काठमाडौँ – वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन्।जोर्डनमा आत्महत्या गर्नेमा सिन्धुपाल्चोककी २० वर्षीय सरिता रसाइली रहेकी छन् । उनी क्लासिक कम्पनीमा कार्यरत थिइन् ।

उनले गत नोभेम्बर २४ तारिख बिहान करिब ५ः३० बजे आत्महत्या गरेकी हुन्।उनको पोस्टमार्टम रिपोर्टपछि उनले आत्महत्या गरेको जोर्डन पुलिसले बताएको छ।उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन। घटना भएपछि जोडर्न पुलिसले रसाइली शव हेर्न नदिएपछि क्लासिक कम्पनीमा नेपालीहरुले आन्दोलन पनि गरेका थिए।

निर्मलाका बुबा भन्छन्ः ‘म बहुलाएको छैन, न्याय माग्दा समाजले जबरजस्ती बहुला बनाउन खोज्यो !’ (भिडियाे)

काठमाडाैं। मानसिक समस्या आएको भन्दै उपचारका लागि काठमाडौं ल्याइएका निर्मलाका बुबा यज्ञराज पन्तले आफूमा कुनै मानसिक समस्या नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘न्यायको लागि संघर्ष गर्दा समाजले मलाई जबरजस्ती पागल बनाउन खोज्यो ।’

१३ वर्षीया छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चित धर्ना बसेका यज्ञराज पन्तलाई मानसिक समस्या भएको भन्दै आइतबार काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टर भन्छन्, ‘यज्ञराजलाई कुनै मानसिक रोग छैन, मनोसामाजिक परामर्शको खाँचो छ ।’कञ्चनपुरमा यज्ञराजले ‘अस्वभाविक गतिविधि’ गरेको भन्दै केही मानिसले उनलाई मानसिक रोगी भनेका थिए । जुन सामाजिक सञ्जालमा निकै चर्चित भयो ।

छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मलाका बा, आमालगायत केही अधिकारकर्मी कात्तिक २५ गतेदेखि अनिश्चितकालिन धर्नामा बसेका थिए । धर्नाकै क्रममा यज्ञराजको स्वस्थ्यमा समस्या देखिएको थियो । यद्यपि, यज्ञराजलाई विगतमा पनि कुनै मानसिक समस्या नभएको निर्मलाकी अामा दुर्गादेवी पन्तको भनाई छ ।मानसिक समस्या नभए पनि यज्ञराजमा आएको स्वास्थ्यसमस्याबाट आफू थप पीडित भएको दुर्गादेवी बताउँछिन् । छोरी गुमाउनुको पीडा र न्याय नपाउँदाको सकसबीच श्रीमनको स्वास्थ्यमा देखिएको समस्याबाट दुर्गादेवी विक्षिप्त छिन् ।

उपचाररत यज्ञराजलाई भेट्न नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि सोमबार शिक्षण अस्पताल पुगेका थिए । उनले निर्मला हत्या प्रकरणका दोषी प्रहरीलाई बर्खास्त गरेर सरकार पन्छन मात्रै खाजेको आरोप लगाए ।गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पूरा भयो, तर अझैसम्म अपराधी पत्ता लाग्ने संकेत देखिएको छैन ।

के-के भयो चार महिनामा ?

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पूरा भइसक्दापनि अझै हत्यारा पत्ता लागेको छैन । निर्मलाको हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै आन्दोलन भयो, संसदमा आवाज उठ्यो, हत्यारा पत्ता लगाउन सात वटा छानबिन समिति बन्यो, सयौंसँग सोधपुछ भयो, केहीको डिएनए परीक्षण भयो, एसपी र इन्सपेक्टर बर्खास्त भए, केही प्रहरी निलम्बित भए । न्यायको भिख माग्दै निर्मलाका बाआमा धर्ना बसे । धर्ना बसेकै ठाउँमा निर्मलाका बुबाको मानसिक स्वस्थ्यमा समस्या आयो । र, निर्मलाका बुबा यज्ञराज पन्तको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चार महिनाबीचमा यस्ता थुप्रैथुप्रै घटना भयो, उत्तार चढाव भयो । तर हत्यारा पत्ता लाग्न सकेको छैन । जसकारण सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारले नै हत्यारालाई संरक्षण गर्न खोजेको आरोप छ ।निर्मलाको हत्या, हत्यापछि उठेको जनआवाज, बलात्कारी एवम् हत्यारालाई कारबाहीसँगै निर्मलाको न्यायका लागि भएका आन्दोलन र हत्यारा पत्ता लगाउन भएका प्रयासको श्रृङ्खला यस्तो छ ।

साउन १०ः बलात्कारपछि हत्या
१० गते निर्मलाको बलात्कारपछि हत्या भयो । साथीको घरमा पढ्नका लागि भन्दै गएकी निर्मलाको बलात्कारपछि हत्या भएको हो ।साउन ११ः शव भेटियो
साथीको घरमा पढ्नका लागि गएकी छोरी अबेलासम्म घर नफर्किएपछि निर्मलाका बाआमाले खोजी गरे । प्रहरीमा उजुरी दिए । ११ गते घरभन्दा अलि परको उखुबारीमा निर्मलाको शव भेटियो । चोट लागेको र अर्धनग्न स्थितिमा शव फेला परेको थियो ।

साउन १४ः अनुसन्धानका लागि सिआईबीको टोली परिचालन
बलात्कारपछि हत्या भएको प्रमाणित भएपछि साउन १४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी)को टोली घटनाको अनुसन्धानका परिचालन भयो । टोलीले अनुसन्धान प्रयास गर्यो । घटनास्थल र शव भेटिएको ठाउँमा जान प्रतिबन्ध लगायो ।

भदौ ४ः दिलिपसिंह विष्ट सार्वजनिक
घटना भएको २५ दिनपछि अर्थात् भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सिआईबीको टोलीले दोषी भन्दै स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । मानसिक सन्तुलन ठिक नभएका विष्टलाई प्रहरीले अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

भदौ ५ः आन्दोलन चर्कियो
मानसिक सन्तुलन गुमेका दिलिपसिंह विष्टलाई प्रहरीले जबरजस्ती दोषी करार गर्न खोजेको भन्दै स्थानीय आन्दोलनमा उत्रिए । प्रहरीले वास्तविक दोषी उम्काउन विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको भन्दै स्थानीयले गरेको आन्दोलनलाई मानवअधिकारवादीलगायतले साथ दिए । आन्दोलन उग्र बन्दै गयो ।

भदौ ६ः एसपी विष्ट र सिडियोको सरुवा
स्थानीयको आन्दोलन प्रहरीकेन्द्रित हुन थालेपछि कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार खड्का र जिल्ला प्रहरी कार्यालयका तत्कालिन असई ज्ञानबहादुर सेठिको सरुवा भयो ।

भदौं ७ः छानबिन समिति गठन
घटनामा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि भदौ ७ गते गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्सीय छानबिन समित गठन भयो । अनुससन्धानका लागि टोली घटनास्थलमा खटियो । अनुसन्धानकै क्रममा समिति संयोजकले राजीनामा घोषणा गरे । पछि फेरि काममा फर्किए ।

भदौं ८ः शनी खुनाको मृत्यु
छानबिन समिति गठन भए पनि स्थानीयले आन्दोलन रोकेका थिएनन् । भदौ ८ गते झन् ठूलो प्रदर्शन भयो । स्थानीयको प्रदर्शनमाथि प्रहरीले गोली चलायो । प्रहरीले चलाएको गोली लागेर १६ वर्षीय शनी खुनाको मृत्यु भयो । दर्जनौं घाइते भए ।

भदौ ९ः एसपी विष्ट निलम्बित
भदौ ९ गते गृहमन्त्रालयको निर्देशनमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट निलम्बनमा परे । कञ्चनपरमा अर्का एसपी पठाइयो ।

भदौ २६ः दिलिपसिंह विष्ट रिहा
प्रहरीले सार्वजनिक गरेका विष्ट दोषी नभएको भन्दै जनमास उर्लिएपछि विष्टको डिएनए परीक्षण र उनको मानसिक अवस्था पत्ता लगाउन उनलाई काठमाडौं ल्याइएको थियो । तर उनको डिएनए नमिलेपछि भदौ २६ गते रिहा गरियो । र सोही दिन अनुसन्धानका लागि हिरासतमा राखिएका वम दिदिबहिनी पनि हिरासत मुक्त भए । त्यसपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि झन् धेरै शंका उब्जियो । यसबीचमा प्रहरीले तत्कालिन एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसँग सोधपुध भयो । उनीहरुको पनि डिएनए परीक्षण भयो । तर, उनीहरुको डिएनए मिलेन । यसपछि घटना झन् रहस्यमयी भयो ।

भदौ ३०ः पाँच प्रहरी निलम्बित
गृहमन्त्रालयले पठाएको छानबिन समितिको प्रारम्भिक प्रतिबेदनले अनुसन्धानको क्रममा प्रहरीले नै लापरबाही गरेको प्रतिवेदन बुझायो । प्रतिवेदनका आधारमा पाँच प्रहरीः ज्ञानबहादुर सेठी, अंगुर जिसी, जगदिश भट्ट, एकेन्द्र खड्का र रामसिंह धामी निलम्बित भए ।

असोज ९ः छानबिन समितिले अन्तिम प्रतिवेदन बुझायो
छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझायो । उक्त प्रतिवेदन असोज २१ गते सार्वजनिक भयो । प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रहरीले नै लापरबाही गरेको उल्लेख छ ।

कात्तिक ८ः एसपी विष्ट बर्खास्त
अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भए । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापाले दुबैजनालाई बर्खास्त गरेका हुन् ।

कात्तिक २५ः निर्मलाका बाआमा धर्नामा
छोरीको बलात्कारपछि हत्या भएको साडे तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेपछि निर्मलाका बाआमा अनिश्चितकालिन धर्नामा बसे । अपराधी पत्ता लगाएर कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु धर्ना बसेका छन् । धर्नामा स्थानीयसँगै मानवअधिकारकर्मीले साथ दिएका थिए ।

मंसिर ७: निर्मलाका बुबामा मानसिक समस्या
धर्ना बसेकै ठाउँमा निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्यस्थिति बिग्रियो । उनीमा मानसिक समस्या आएपछि अहिले उपचारका लागि काठमाडौं ल्याइएको छ । र, काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।