बैसाखीको सहारामा ३ घण्टा लगाएर विद्यालय धाऊँदै लालकुमारी ! भन्छिन्,- कसैले सहयोग गरे होस्टेलमै बसेर पढ्ने थिए

उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ बर्राबोटेकी लालकुमारी मगर १३ वर्षकी भइन् । उनी उदयपुरगढीमा हरेको पञ्चावती उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दैछिन् । दुवै खुट्टा टेक्न नसक्ने मगरले लौरोको सहारामा विद्यालय आवतजावत गर्ने गर्छिन् ।

दुवै हातमा काठको लौरो । उनी पिठ्यूँमा पुस्तकको भारी बोकेर निन्याउरो अनुहार लगाएर विद्यालय पुग्छिन् । तर उनलाई पाइलैपिच्छे लौरोको सहारा चाहिन्छ । उनका दुवै खुट्टा काठका लौरा हुन । ‘दुवै खुट्टा राम्ररी टेकिँदैनन्’, विद्यालयबाट फर्कँदै गरेकी मगरले लौरोको साहारामा उभिँदै भनिन्, ‘स्कुल आउँदा तीन घण्टा लाग्छ, घर फर्कँदा ओरालो भएकाले दुई घण्टा लाग्छ ।’ अरु मानिसलाई पनि यो बाटो कस्सिएर हिँड्दा डेढ घण्टा लाग्छ ।

दश बजेको स्कुल भ्याउन मगरलाई ७ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता छ । अरु साथीहरुले ८ बजेर ३० मिनेटमा हिँडे आइपुग्छन् । उनले भनिन, ‘बुवा कान सुन्दैनन्, आमाको मेरोजस्तै खुट्टामा समस्या छ । सामान्य खेतीपाती गरेर दैनिक गुजारा चल्छ ।’

घरबाट विद्यालय आउँदा घेरै समय खर्च हुने मगरको बैसाखी पनि गतिलो छैन । ‘आमाको बैसाखी छ, त्यसले अलि सजिलो हुन्छ कि भन्यो, त्यो पनि अग्लो हुन्छ’, उनले भनिन्, ‘पैसा नभएकाले विद्यालयमा भएको होस्टेलमा बस्न पनि सकिँदैन ।’

जन्मजातै अशक्त मगरले बैशाखीको लौरो समाउँदै सुन्दर भविष्यको सपना देखेर उनी कठिन यात्र गरेर विद्यालय गएको बताउँछिन् । मसिक ४ सय भत्ता पाउँदै आएकी मगरले नीलो रंगको अपागंता कार्ड पाएकी छिन् त्यही पैसा किताब कापी किन्ने आधार बनेको उनको भनाई छ । उनले भनिन, ‘अहिले सानो कक्षामा ४ सयले कापी किन्न पुगेको छ, ठूलो कक्षामा पुगेपछि कसरी खर्च धान्ने भन्ने चिन्ता लाग्छ ।’

मगरकी छिमेकी विमला पाण्डेले छात्रावासमा राखेर पढ्नका लागि रकम अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लालकुमारीले यति लामो बाटो धाएर पढ्न आएको देख्दा अचम्म लाग्छ । घरमा आमाबुवा पनि अपांग हुनुहुन्छ, सानो भाइ छ । अति गरिब परिवार छ ।’ उपचार गर्दा ठीक हुने भन्दै उहाँले सहयोगी मनलाई उपचार खर्चको लागि अपील गर्नुभयो ।

उदयपुरगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कुमार अधिकारी भन्नुहुन्छ, ‘मगरको दुवै खुट्टा टेकिँदैनन् लौरोको भरमा हिँड्नु पर्छ । घरमा आमाको बैसाखी छ तर उनलाई अग्लो हुन्छ’, उहाँले थप्नुभयो, ‘अहिलेसम्म सरकारी तथा गैरसरकारी संस्था कसैले मगरको सहयोगका लागि हात बढाएको छैन । अहिले वडा कार्यालयले मगरलाई होस्टलमा बसेर पढ्न र बैसाखी किन्न लागिरहेको छ ।’

वडा कार्यालयबाट गर्ने सहयोग गर्नका लागि आफूहरु तयार रहेको समेत उहाँले बताउनुभयो । लालकुमारी पनि कसैले सहयोग गरे आफूलाई पढ्न सहज हुने बताउँछिन्, ‘कसैले आर्थिक सहयोग गरे विद्यालयकै होस्टेलमा बसेर बढ्न्े थिए ।’