विगत ६ दिनदेखि बेपत्ता भएका चितवनको कालिका नगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा तेह्रथुमको एक होटलमा भेटिएका छन् ।

यही कात्तिक २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनी भरतपुरबाट बेपत्ता भएका थिए । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदिप नारायणगढमा सपिङ गरेपछि सुटकेससहित बेपत्ता भएका थिए । सुदिपका बुबा गंगा सापकोटाले सुदिप भेटिएको र लिनका लागि त्यसतर्फ प्रस्थान गरिएको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए

प्रहरीको विशेष अनुसन्धान टोलीले सापकोटालाई तेह्रथुमको एक होटलमा फेला पारेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौंरले जानकारी दिए । सुदिपसँग भएको अष्ट्रेलियन भिसा नै फेक भएको प्रहरीले जनाएको छ । अष्ट्रेलिया जाने तयारीमा रहेको भनिएका सापकोटा गत सोमबार नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट बेपत्ता भएका थिए । अष्ट्रेलिया जाने तयारीमा रहेको व्यक्ति एकाएक हराएको खबरले चितवनमा सनसनी फैलिएको थियो ।

उनको एक महिना अगाडि मात्र विवाह भएको थियो । उनले अष्ट्रेलिया जाने तयारी गरिरहेको परिवार तथा आफन्तलाई बताउँदै आएका थिए । सुदिपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाइ सकेको परिवार स्रोतले बताएको थियो ।

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधी ज्ञवालीले अष्ट्रेलिया जान भनेर सापकोटाले बनाएको सबै डकुमेन्ट फेक भएको जानकारी दिएका छन् । सापकोटाको ल्यापटपमा भएको डकुमेन्ट र अन्य अनुसन्धान गर्दा भिसा फेक देखिएको उनले बताए । यसैकारण सापकोटा भागेको हुनसक्ने डीएसपी ज्ञवालीको अनुमान छ । सापकोटाको मोबाइल ट्यापिङका आधारमा भेट्टाउन सफल भएको प्रहरीको भनाइ छ । सापकोटाले मोबाइल अफ गरे पनि वाइफाइ भने निरन्तर चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सापकोटा तेह्रथुम प्रहरीको नियन्त्रणमा रहेको र उनलाई लिन परिवारका सदस्य त्यसतर्फ लागेको बाबु गंगा सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।