कसले भन्छ भगवान छैन ?? हेर्नुस गाईले पत्ता लगाएको महादेव ! दर्शन गर्नेको भिड.. तपाईपनी कमेन्टम ॐ लेखी दर्शन गर्नुहोस

ब्याउन लागेको गाई गोठबाटै हरायो । अहिलेको गुप्तेश्वर महादेवपारिपट्टि खेतमा गाईगोठ थियो । गाई खोज्दाखोज्दै महिनौं बित्यो । फेलापरेन । गाईधनीले गाई माया मारिसकेका थिए । मनमा तोड परे पनि गाई माया मार्नुको विकल्प थिएन ।सपना सपना नै हो, विपना हुन सक्दैन भनिन्छ । यससम्बन्धमा गाईधनीसमेत जानकार थिए । उनले गोठनजिकको खेतमा गाईले धान खाइरहेको सपना देखे । उज्यालो भएपछि त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक परे । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक होइन । उनी धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे ।

गाईधनीले दुई÷चार दिन त्यसरी धान खाइरहेको गाईको पछि लागे । नजिकै पुग्दा हराउँथ्यो । गाईनजिक पुग्नेक्रममा हराएपछि कता–कता गाई कराएको आवाज सुनियो । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुप्तेश्वर महादेव गुफामा देखियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन ।

त्यति अप्ठ्यारो गुफामा गाई कसरी पस्यो होला ? जोकोहीले आश्चर्य मान्छन् । गाईधनी एक्लैले गाई निकाल्न नसक्ने भएपछि गाउँलेसँग हारगुहार मागे । उनी सहयोगी लिएर पुनः त्यही गुफा पुगे । जम्मा भएकामध्ये आधा गुफाभित्र पसे । बाँकी बाहिरै रहे । गुफाभित्रकाले गाई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने । तर, गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, ‘गाई निकाल्न सकिँदैन । माया मारौं ।’

त्यसो भन्दै सहयोगी घर फर्के । गाईधनी त्यहीं बसे । आफ्नो गाईको माया लाग्नु स्वाभाविकै थियो । गाईधनीले मनमनै सोचे– मलाई भगवान्ले छल त गरेन । उनले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गाई सजिलै बाहिरियो ।

त्यत्रा सहयोगीसहित प्रयास गर्दा निकाल्न नसकिएको गाई गाईधनी एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव’ भन्न थालियो । गाईले पत्ता लगाएको भएकाले गुप्तेश्वर गुफा भनिएको स्थानीय बताउँछन् ।

गुप्तेश्वर महादेव पुगेकालाई पुजारी हीराधन राईले उल्लिखित किंवदन्ती सुनाउने गर्छन् । गुप्तेश्वर महादेव दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्छ । गुफाभित्र सातजनाजति अटाउन सकिन्छ । काला चट्टानले बनेका गुफा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको नामकरण गरिएका छन् । गुप्तेश्वर महादेवभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्ऋषि, महादेवको शिर र कछुवालगायत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फुट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । शिलाबाट तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गाई आकारको शिला प्रस्टै देख्न सकिन्छ ।

अर्खौलेको दुक्सिलीमा रहेको गुप्तेश्वर महादेव संवत् १७२६ मा पत्ता लागेको हो भन्ने गरिन्छ । त्यति पुरानो मानिए पनि पाँच वर्षअघि देखि आन्तरिक तथा वाह्य पर्यटक गुप्तेश्वर महादेव बाक्लै पुग्ने गरेका छन् । त्यसअघि औंलामा गन्न सकिनेमात्रै पुग्थे । हलेसी पुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झन्छन् । भारत, भुटान, श्रीलंका, ताइवान, कोरिया, सिंगापुर, हंगेरी, हल्यान्डका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पुजारी राईले जानकारी गराए ।

हलेसी–तुवाचुङ नगरपालिका–८ धितुङका अर्जुन दर्नाल गुप्तेश्वरमा भेटिए । पछिल्लो समय हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बसोवास गर्ने दर्नाल पहिलोपटक गुप्तेश्वर पुगेका थिए । उनको भनाइ थियो, ‘गुप्तेश्वर महादेवको प्राकृतिक बनोट हेर्दा असाध्यै सुन्दर लाग्यो । त्यत्तिकै आनन्द लाग्यो । यस्तो गुफा जीवनमा पहिलोपटक देखेको हुँ ।’

अर्खौलेकै यादव श्रेष्ठसमेत गुप्तेश्वरमै भेटिए । ‘यसपटकसहित तेस्रोपटक गुप्तेश्वर महादेवको दर्शन गरें,’ श्रेष्ठले थपे, ‘बाहिरतिर त आइरहन्छु ।’

गुप्तेश्वर महादेव पर्यटकीस्थल बन्दै गएको छ । अर्खौलेमा सुत्केरी ढुंगा, गुप्तेश्वर महादेवलगायत अन्य पर्यटकीयस्थलसमेत रहेका छन् । जसको प्रचार–प्रसार हुन सकेको छैन । हलेसी–तुवाचुङ नगरपालिका–१० वडाध्यक्ष ज्ञानु पुरी भन्छन्, ‘गुप्तेश्वर महादेव वडाको प्रमुख पर्यटकीयस्थल हो । नगरसँग समन्वय गरेर यसलाई नमुना पर्यटकीयस्थल बनाउन लागिपरेको छु । गुप्तेश्वर महादेवलाई सडकसँग जोड्न धेरै छैन । त्योसँगै यहाँको पर्यटकीयस्थलको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छु ।’

गुप्तेश्वर महादेव आसपासमै पार्वतीथान र सिकारीथान रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउमात्रै होइन, जंगलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसल खोलिएका छन् ।

पर्यटकलाई जानकारी गराउन कोही न कोही पथप्रदर्शक भेटिन्छन् । गुप्तेश्वर महादेव पुगेकाले स्थानीयले ‘सिजनल बिजनेस’ गर्दै आएका छन् । बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको हीराधन राईले सुनाए । पर्यटक बाक्लिएपछि स्थानीय लाभान्वित हुने नै भए ।

अर्खौले बजारबाट पाँच किमि दूरीमा रहेको गुप्तेश्वर पुग्न ओह्रालो र फर्कंदा उकालो बाटो छ । गुप्तेश्वरको केही माथिसम्म यातायात साधन पुग्छ । त्यहाँबाट १० मिनेट पैदल हिँड्नुपर्छ ।

गाईले पत्ता लगाए पनि त्यो गाई कसको थियो होला भनेर जिज्ञासा लाग्न सक्छ । गाई स्थानीय सुवोध राई थियो । राईको गाई गुप्तेश्वर महादेवमा अड्किएको हो । स्थानीय बूढापाकाको भनाइअनुसार गाई र गाईधनीले १७२६ मा गुप्तेश्वर महादेव पत्ता लगाएका थिए ।