३० असोज, काठमाडौं । आज बडादशैंको सातौ दिन अर्थात् सप्तमी । यस दिनलाई फूलपाती भन्ने चलन छ । दशैंको खास रौनक आजबाट सुरु हुन्छ ।घटनास्थापनादेखि दशैै सुरु हुने भएपनि सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको बेग्लाबेग्लै महत्व पाइन्छ ।सप्तमीको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती घरमा प्रवेश गराउने काम हुन्छ ।

गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा भित्र्याउने चलन छ । ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्राउने चलन बसेको हो ।

गोरखा दरबारस्थित गोरखकाली मन्दिरका पुजारी, कलशेनी, मंगलेनी, भित्रिया सुसारेहरुले फूलपाती तयार गर्छन् । आश्विन शुल्क प्रतिपदाका दिन विधिपूर्वक भगवतीको आव्हान गरेर घटस्थापना गरिन्छ । यही घटस्थापनासँगै भगवतीको उपासाना गरी दुर्गावतीको पि्रय जौको जमरा राख्ने शास्त्रीय विधान छ ।

संस्कृतमा जमरालाई जयन्ती भनिन्छ । भगवतीकै एक नाम हो जयन्ती । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेहरुले बिहानको शुभ साइतमा फूलपाती सहितको डोली काठमाडौं पठाउने गर्छन् ।

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राहृमण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । हनुमानढोका दरबार पुर्‍याएपछि साँझ हर्षबढाइँका साथ फूलपाती भित्राउने प्रचलन छ ।

फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येकको नौ वटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्राइन्छ ।

नौ प्रजातीका पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक-एक गरी आव्हान गरेर सोह्र सामग्रीले पुजिन्छ । यसलाई नवपत्रिका पनि भनिन्छ । इन्ऽ, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । सोही पौराणिक मान्यता अनुसार यस्तो विधि बसेको नेपाल पञ्चाङ्ग निणर्ाय समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

सप्तमीका दिन विशेषगरी महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरूले सप्तमीकै दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्राउने गर्छन् ।

यसरी बस्यो परम्परा

तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि गोरखकाली मन्दिरको दशैंघरबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दरबारमा भित्राउने परम्परा सुरु भएको हो । पृथ्वीनारायण शाह गोरखाको राजा हुनुभन्दा अगावै त्यहाँको दरबारमा धुमधामका साथ फूलपाति राख्ने प्रचलन थियो । उनका बाबु नरभूपाल शाह र हजुरबुबा वीरभद्र शाहभन्दा पनि अघि पृथ्वीपति शाहकै शासनमा समेत त्यहाँको दरबारमा धुमधामका साथ फूलपाति राखिन्थ्यो ।

१७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले अन्य राज्यमा पनि जित हासिल गर्दै गए । १८२५ सालमा काठमाडौं उपत्यका विजय हासिल गरी यही खाल्डोलाई देशको राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्राउने थालियो ।

उपत्यकाको कान्तिपुर राज्यमा विजय प्राप्तिपछि पृथ्वीनारायण शाहले हनुमानढोकामा गोरखाबाटै फूलपाती ल्याउन हुकुम गरेको बताइन्छ । ‘उ बेला राजा महाराजाको हुकुम नमान्ने कुरै भएन’, प्रा.डा. गौतम भन्छन्, ‘विस्तारै यसले परम्पराकै रुप लियो ।’